नेपाल

मुस्ताङकी छिरिङ डोको गुरुङ एफएओको ‘१०० महिला नायिका’ सूचीमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँकी छिरिङ डोको गुरुङ महिला कृषि तथा ग्रामीण विकास क्षेत्रमा योगदान पुर्‍याएको भन्दै संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को विश्वभरका ‘१०० महिला नायिका’ सूचीमा छनोट भई सम्मानित हुनुभएको छ। मुस्ताङकी अगुवा महिला कृषि उद्यमी गुरुङ एफएओको उक्त सूचीमा छनोट भएपछि इटालीको रोमस्थित एफएओ मुख्यालयमा अक्टोबर १२ देखि १६ सम्म आयोजित विशेष सम्मान समारोहमा सहभागी हुनुभएको हो।

एफएओको छनोट प्रक्रिया विश्वभरबाट प्राप्त ६०० भन्दा बढी महिला उद्यमीको सहभागितामा भएको थियो। १३१ भन्दा बढी देशका महिला सहभागी रहेको यस प्रक्रियामा नेपालको कृषि तथा ग्रामीण विकासमा प्रेरणादायी योगदान पुर्‍याएको भन्दै गुरुङलाई छनोट गरिएको समाचारमा उल्लेख छ। नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालयले नेपालबाट छनोट हुनुभएकी गुरुङको सहभागिताका लागि आवश्यक कागजी प्रक्रिया पूरा गर्न सहजीकरण गरेको उहाँले बताउनुभयो।

गुरुङले भन्नुभयो, “हिमाली जिल्लामा आफूले गर्दै आएको कृषि खेतीबारे विश्वभर जानकारी गराउने अवसर पाएकी छु। यो अन्तर्राष्ट्रियस्तरको सम्मानले थप हौसला मिलेको छ।”

पहिलोपटक अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा सहभागी भएर विभिन्न देशका महिला उद्यमीसँग सहकार्य र अनुभव आदानप्रदान गर्ने अवसर पाएको उहाँले बताउनुभयो। यसबाट प्राप्त ज्ञान र अनुभवलाई गाउँमै कृषि आधुनिकीकरणका लागि उपयोग गर्न सकिने उहाँको भनाइ छ।

महिला उद्यमी गुरुङले स्याउ खेती र च्याङ्ग्रापालन तथा बिक्रीबाट वार्षिक ६० लाख रुपियाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ। घरायसी खर्च जुटाउने उद्देश्यले करिब एक दशकअघि एक रोपनी क्षेत्रफलमा स्याउ खेती सुरु गर्नुभएकी उहाँले अहिले ८० रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिको स्याउ खेती, स्थानीय प्रजातिका स्याउको उत्पादन तथा च्याङ्ग्रापालन गर्दै आउनुभएको छ।

सुरुमा घरखर्च जुटाउनकै लागि व्यावसायिक स्याउ खेती गर्दा ‘बेकारमा लगानी गरेको’ भन्दै खिसी गर्नेहरू अहिले उहाँको सफलताबाट चकित पर्ने गरेका छन्। यसअघि गुरुङले दुई लाख रुपियाँ राशिसहितको राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार र गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट सर्वोत्कृष्ट कृषकको सम्मानसमेत प्राप्त गरिसक्नुभएको छ।

जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै गएपछि तिरी गाउँका करिब १३ घरधुरी विस्थापनको जोखिममा रहेको अवस्थामा गुरुङले गाउँमै व्यावसायिक स्याउ खेती र पशुपालनलाई निरन्तरता दिँदै आउनुभएको छ। उहाँको संघर्ष र सफलताले ग्रामीण क्षेत्रमा कृषि उद्यममार्फत जीविकोपार्जन र आर्थिक सशक्तीकरणको सम्भावना देखाएको छ।

कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा. लालमणि अर्यालले कृषि तथा ग्रामीण जीविकोपार्जनको प्रवर्द्धन, प्राकृतिक स्रोतको संरक्षण, समुदाय सशक्तीकरण र भावी पुस्ताका लागि अवसर सिर्जना गर्न गुरुङले योगदान पुर्‍याएको बताउनुभयो। उहाँ एफएओको ‘१०० महिला नायिका’ सूचीमा छनोट हुनुले नेपाली महिलाले कृषि तथा ग्रामीण विकास क्षेत्रमा पुर्‍याएको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसर मिलेको डा. अर्यालको भनाइ छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्