रास्वपामा उम्मेदवार छान्न नयाँ मापदण्ड
काठमाडौँ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोट गर्न ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३’ सार्वजनिक गरेको छ । रास्वपा केन्द्रीय समितिबाट जारी गरिएको ४४ पृष्ठको रूपरेखामा उम्मेदवार छनोटमा पारदर्शी मूल्याङ्कन र आन्तरिक प्रतिस्पर्धामा जोड दिइएको छ । रास्वपाले योग्य, सक्षम, इमानदार र जनउत्तरदायी नेतृत्व छनोट गर्ने लक्ष्य राखेको जनाएको छ ।
सत्तारूढ दल रास्वपाले पहिलो पटक स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तयार गरेको हो । यसअघि यसप्रकारको मापदण्ड अन्य कुनै दलले अभ्यास गरेका थिएनन् । उम्मेदवार छनोट प्रक्रियालाई वैज्ञानिक, तथ्यपरक, पारदर्शी र सहभागितामूलक बनाउन व्यक्तिगत प्रभाव, नातावाद, आर्थिक हैसियत तथा सीमित नेतृत्वको निर्णयभन्दा स्पष्ट मापदण्ड, प्रमाण र संस्थागत मूल्याङ्कनलाई प्राथमिकता दिने रास्वपाले जनाएको छ ।
रास्वपाको रूपरेखा अनुसार आगामी स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले सबैभन्दा पहिला पार्टीको क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्ने छ । त्यसपछि नेतृत्व विकाससम्बन्धी प्रशिक्षण, आवश्यक परीक्षण तथा निर्धारित छनोट प्रक्रियामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ ।
रास्वपाको सो दस्ताबेजमा गाउँपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य पदका आकाङ्क्षीलाई समेटेको छ । उम्मेदवारको कानुनी योग्यता, पार्टी सदस्यता, वैचारिक प्रतिबद्धता, सार्वजनिक आचरण र जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमतासमेतलाई मूल्याङ्कनको आधार बनाइएको उल्लेख छ ।
क्यान्डिडेट क्लबमा आवेदन दिन स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ ले तोकेको योग्यता भएको, सोही ऐनको दफा १३ अनुसार उम्मेदवारको अयोग्यता नभएको र दलको विधानबमोजिमको योग्यता भएको हुनुपर्ने छ ।
भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा बिस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्तिले क्यान्डिडेट क्लबमा आवेदन दिन पाउने छैनन् ।
सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा बिस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको अवस्थालाई पनि क्यान्डिडेट क्लबमा निषेध गरिएको छ । दस्ताबेजमा उम्मेदवारको शैक्षिक योग्यता, आर्थिक पारदर्शिता, स्वार्थको द्वन्द्व नभएको, कानुनी अवस्था तथा सार्वजनिक व्यवहार, आचरणमा प्रश्न नउठेको विषयलाई प्राथमिकता दिइएको छ । आकाङ्क्षीले आवश्यक कागजात र स्वघोषणा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ ।
उम्मेदवार छनोट मूल्याङ्कनका लागि पालिका प्रमुख तथा उपप्रमुखका लागि एक समिति गठन गरिने व्यवस्था छ । महिला, दलित, जनजाति, मधेशी, थारू, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, युवा तथा पछाडि परेका क्षेत्रको प्रतिनिधित्वलाई जोड दिइएको छ । रूपरेखाको दफा २९ मा पार्टी सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी उम्मेदवार छनोटमा अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था उल्लेख छ ।
आवेदन खुला
यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘नगरपालिका क्यान्डिडेट क्लब’ मा आवेदन खुला गरेको छ । पार्टीले बिहीबारदेखि आवेदन खुला गरेको जानकारी दिँदै स्थानीय तहमा नेतृत्व लिन इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरेको हो । आवेदन बिहीबारदेखि खुला भए पनि आवेदन दिने अन्तिम मिति भने नतोकिएको रास्वपा सहमहामन्त्री निशा डाँगीले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनमा आफ्नो नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य पदमा उठ्न इच्छुक व्यक्तिले आवेदन दिन सक्ने डाँगीले बताउनुभयो ।
आवेदन दिन चाहनेले राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरी आवेदन दिन सक्ने व्यवस्था गरेको छ । रास्वपाले गाउँपालिकाको उम्मेदवारी दिन चाहनेका लागि यसअघि नै क्यान्डिडेट क्लबमा आवेदन माग गरिसकेको छ ।