आइस अधिकारीहरूद्वारा गोली हानिएका न्युयोर्कका एक व्यक्ति आप्रवासन अदालतमा उपस्थित भए
न्युयोर्क (एपी)। न्युयोर्कमा संघीय आप्रवासन अधिकारीहरूद्वारा गोली हानिएका एक पुरुषको बिहीबार आप्रवासन न्यायाधीशसमक्ष पहिलो सुनुवाइ भयो। उनी आफू थुनामा रहेको संघीय जेलबाट भिडियो लाइभस्ट्रिममार्फत सुनुवाइमा सहभागी भए। उनका वकिलहरूका अनुसार उनलाई त्यहाँ ‘एकान्त कारावास’मा राखिएको छ।
२८ वर्षीय ओस्कार बेल्गालले अदालतको छोटो सुनुवाइको क्रममा खासै केही बोलेनन्। भिडियोमा गोली लागेको चोट स्पष्ट देखिँदैनथ्यो, तर उनका वकिलहरूका अनुसार उनको घाँटीको पछाडिपट्टि अड्किएको गोली निकाल्न शल्यक्रिया आवश्यक छ।
डोमिनिकन रिपब्लिकका नागरिक बेल्गालले जेलभित्रको आफ्नो बसाइको अवस्थाबारे न्यायाधीशलाई केही भन्न खोजेका थिए, तर उनका वकिलले उनलाई त्यसो नगर्न सल्लाह दिँदै रोके।
‘लिगल एड सोसाइटी’की क्यारिन ब्राउनले बताइन् कि बेल्गाललाई ब्रुकलिनस्थित ‘मेट्रोपोलिटन डिटेन्सन सेन्टर’ मा २४ सै घण्टा ‘लकडाउन’ (एकान्त बसाइ) मा राखिएको छ र उनलाई परिवारसँग कुरा गर्न फोनको पहुँचसमेत दिइएको छैन।
उनले न्यायाधीश डारा रीडलाई जानकारी दिइन् कि आफूले ‘इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट’ (आइस) लाई बेल्गाललाई एकान्त कारावासबाट सार्न आग्रह गरेकी थिइन्, तर हालसम्म उक्त आग्रह सुनुवाइ भएको छैन। न्यायाधीश रीडले भनिन् कि जेलभित्र उनलाई कहाँ राख्ने भन्ने विषयमा आफ्नो कुनै अधिकार वा भूमिका हुँदैन। उल्लेखनीय छ, भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोलाई पनि यही जेलमा राखिएको छ।
अक्टोबर ८ मा, बेल्गालले आफ्ना छोरालाई विद्यालयबाट लिएर आउँदै गर्दा पार्किङ स्थल खोजिरहेका बेला आइस अधिकारीहरूले उनलाई रोक्ने प्रयास गरेका थिए। ५ वर्षीय बालक कारभित्रै थिए, त्यही बेला एक आइस अधिकारी दौडिएर आए र कारको एउटा झ्याल फुटाए।
बुधबार अदालतमा पेस गरिएको विवरणअनुसार, बेल्गालले कार अगाडि बढाएर त्यहाँबाट निस्कने प्रयास गर्दा आइस अधिकारीले गाडीतर्फ लक्षित गरी धेरै राउन्ड गोली चलाए। वकिलहरूका अनुसार, ती अधिकारीहरूले आफ्नो परिचय दिएका थिएनन् र उनीहरूले मास्क तथा सर्वसाधारणले लगाउने लुगा लगाएका थिए।
‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’का अधिकारीहरूको दाबी छ कि आफ्नै ज्यान खतरामा परेको महसुस गरेपछि उनीहरूले गोली चलाएका थिए। उनीहरूका अनुसार, बेल्गालले आफ्नो कार दुईवटा सरकारी गाडीमा ठोक्काएपछि अधिकारीहरूतर्फ तीव्र गतिमा गाडी बढाएका थिए।
गत हप्ता सार्वजनिक गरिएको न्युयोर्क सहर प्रहरीको सुरक्षा क्यामेरा फुटेजमा उक्त घटनाको केही अंश देखिए पनि, गोलीकाण्ड कसरी भयो भन्ने कुरा भने स्पष्ट रूपमा खुल्दैन।
बेल्गालको आप्रवासन अदालतसम्बन्धी अर्को सुनुवाइ अक्टोबर २९ मा हुनेछ। उनका वकिलहरूले उनलाई रिहा गराउन माग गर्दै संघीय अदालतमा निवेदनसमेत दर्ता गराएका छन्।