नेपाल

प्रस्तावित १३ राजदूतको सुनुवाइ आजदेखि

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिमा विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ ।

संसद् सचिवालयका अनुसार आज बिहान सवा ११ बजे बस्ने समितिको बैठकमा प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरी सदस्यहरूलाई वितरण गरिनेछ ।

यस्तै, प्रस्तावित राजदूतहरूले पेस गरेका कार्ययोजना पनि समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ ।

प्रस्तावित १३ जना राजदूतविरुद्ध सातवटा उजुरी परेका छन् । तीमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतविरुद्ध र पाँचवटा उजुरी एक–एक जना प्रस्तावित राजदूतलाई लक्षित गरी परेको समितिले जनाएको छ ।

गत २ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा र संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जंगबहादुर राणालाई सिफारिस गरेको छ ।

यस्तै, जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्