भोटेकोशी बाढीमा मर्नेहरुको संख्या एक हजार ३५१ जना पुग्यो
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजेसम्म एक हजार ३५१ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा १६९ जना, नुवाकोटमा १९६ जना, धादिङमा ६९ जना, चितवनमा ३६२ जना, गोरखामा ७४ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २२२ जना र नवलपरासी पश्चिम २२१ जना गरी एक हजार ३५१ जनाको शव फेला परेको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पूरा गरी हाल सम्म एक हजार ४४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार १८१ र आफन्तका एक हजार २३८ गरी कुल दुई हजार ४१९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको एक हजार २९३ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म सात हजार ९१२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका तीन हजार ९९२ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा तीन हजार १९० जना व्यक्तिहरूलाई राखिएको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।