कोलोराडोमा सडक दुर्घटनामा परी नेपाली मुलका विजय पाण्डेको दु:खद निधन
नातिबाबु भट्ट, कोलोराडो । अमेरिकाको कोलोराडोमा भएको एक सडक दुर्घटनामा १८ वर्षीय नेपाली मुलका युवक विजय पाण्डेको असामहिक निधन भएको छ।
शुन्दर भविश्य निर्माणको सपना बोकेर अमेरीका आएका पाण्डे ७ महिना नपुग्दै सडक दुर्घटनामा परी ज्यान गुमाएका हुन्। जुन देशमा सुन्दर भविष्य बनाउने सपना बोकेर आए त्यहीँ उनको जीवनको यात्रा ७ महिनामै समाप्त भएको छ ।
नेपालको स्याङ्जा जिल्ला विर्गा निवासी बाबु गणेशप्रसाद पाण्डे र आमा संगीता पाण्डेको जेठा छोरा विजय पाण्डेको यसरी दु:खद निधन हुदा परिवारमा ठुलोबज्रपात परेको छ । उनका परिवारजन मध्ये १७ बर्षिय भाई मात्र यहॉ रहेको बुबा आमा नेपालमै रहेको समाजसेवी नन्दलाल न्यौपानेले बताएका छन् ।
प्राप्त विवरणअनुसार अगस्ट २९ गते राति करिब १:३० बजे कामबाट कोठातर्फ फर्कने क्रममा पाण्डेलाई टेस्ला गाडीले ठक्कर दिएको र दुर्घटनापछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैबीच, जेफरसन काउन्टी कोरोनरको कार्यालयले पाण्डेको मृत्यु भएको पुष्टि गर्दै मृत्युको पुष्टि पत्र जारी गरेको छ। कार्यालयले मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ। मृत्युको पुष्टि गर्ने उक्त पत्रमा थप जानकारीका लागि जेफरसन काउन्टी कोरोनरको कार्यालयमा सम्पर्क गर्न सकिने उल्लेख छ।
यस्तो दु;खद खबरले उनको परिवार, नातागोता, साथीभाइमा मात्र होइन, सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध र मर्माहत बनाएको छ। हाल उनको पार्थिव शरीर अस्पतालमै रहेको छ। उनका बुवा–आमा नेपालबाट अमेरिका आइपुगेपछि अन्त्येष्टि गर्ने तयारी रहेको हुँदा अस्पताल तथा अन्य आवश्यक व्यवस्थापनमा ठूलो आर्थिक खर्च भइरहेको छ।
यस्तो दुःखद र असहाय अवस्थामा हामीले गर्ने सानोभन्दा सानो सहयोग पनि उहाँको परिवारका लागि ठूलो सहारा बन्न सक्छ। आज हामीसँग उनको जीवन फर्काउने सामर्थ्य छैन, तर उनको परिवारको दुःखमा केही मलम लगाउने सामर्थ्य अवश्य छ। त्यसैले मानवताको नाताले, नेपाली हुनुको नाताले र दुःखमा एक अर्काको साथ दिने हाम्रो संस्कारको नाताले आफूले सकेको सहयोग गरिदिनुहुन कोलोराडो नेपाली समुदायले सबैमा विनम्र अनुरोध गर्दै गोफण्ड मी शुरू गरेको छ ।
सबै एकजुट भएर एक नेपाली हुनुको नाताले यो पीडामा परेको परिवारको साथ दिऔं। सकेको आर्थिक सहयोग गरौं र यो पोस्ट शेयर गरेर धेरै भन्दा धेरै नेपाली समुदायसम्म पुर्याऔं।
हाम्रो सानो सहयोग र एउटा शेयरले पनि एउटा परिवारलाई यो कठिन समयमा आशा र हौसला दिन सक्छ। सबैले हातेमालो गरौं, एउटा पीडित परिवारलाई एक्लो महसुस हुन नदिऔं।
यसैबिच कोलोराडोमा सकृय नेपाली घर, एनआरएनए कोलोराडो च्याप्टर लगायतका संघ संस्थाहरूले समाजिक संजाल मार्फत विज्ञप्ती जारी गर्दै सहयोगको लागी अनुरोध गरेका छन् ।