खेलकुद

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल एसिसी प्रिमियर कपमा लगातार दोस्रो जित

काठमाडौँ। एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो ।

यसअघि भएको पहिलो खेलमा नेपालले बहराइनलाई पराजित गरेको थियो । मलेसियाले नेपाललाई जितका लागि १०४ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपाल २१ दशमलव ४ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६८ बलमा चार चौका प्रहार गर्दै अविजित ४५ रनको योगदान दिएका हुन् ।

त्यसै गरी, इसान पाण्डेले २०, दीपेन्द्रसिंह ऐरीले १२ तथा रोहितकुमार पौडेलले १० बनाए । बलिङतर्फ मलेसियाका सायिद अजिज, भिरनदीप सिंह, प्रशान्त मधुकर र अरिफ उल्लाहले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ३२ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिएको थियो ।

मलेसियाका लागि कप्तान सायिद अजिजले सर्वाधिक ३० रन जोडे । उनले ४९ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३० रन जोडेका हुन् । त्यसैगरी, अकिल वाहिदले २४ रन जोडे भने भिरनदीप सिंहले १४ तथा स्याहादत रामिले १३ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

मलेसियालाई १०३ रनमा समेट्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । त्यस्तै, ललितनारायण राजवंशीले दुई विकेट तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक एक विकेट लिए । नेपालले अब आफ्नो तेस्रो खेल यही भदौ २१ गते साउदी अरेबियासँग खेल्ने छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्