डायस्पोरा

बाढी प्रभावितहरूको लागि वान स्टेप फाउन्डेसनको २५ लाख रुपियाँ सहयोग

टेक्सस । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि अमेरिकामा रहेको परोपकारी संस्था वान स्टेप फाउन्डेसनले २५ लाख रुपियाँ सहयोग गरेको छ।

टेक्ससमा कार्यालय रहेको फाउन्डेसनका संस्थापक तथा परोपकारी धावक बाल जोशीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपियाँ जम्मा गर्नुभयो । उहाँले सोको जानकारी दिदै टेक्ससस्थित नेपाली महावाणिज्यदूत सुरेश अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । चेक बुझ्दै महावाणिज्यदूत अधिकारीले विपत्तिको समयमा नेपाल सरकार र प्रभावित नागरिकलाई सहयोग गरेकोमा जोशीप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

‘यतिबेला मुलुकलाई संसारभर छरिएर रहेका नेपालीको सहयोगको खाँचो छ। तपाईको यो सहयोगले अरूलाई पनि आफ्नो मातृभूमिका लागि सहयोग गर्न प्रेरणा दिनेछ’ अधिकारीले भन्नुभयो।

विपत्तिको यो घडीमा जन्मभूमिप्रतिको आफ्नो दायित्व सम्झेर फाउन्डेसनका तर्फबाट सहयोग गरिएको जोशीले बताउनुभयो । संसारभर रहेका नेपालीलाई आफ्नो क्षमताअनुसार बाढी प्रभावितको उद्धार तथा राहतमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

७७७ म्याराथनका रूपमा चिनिने विश्व म्याराथन च्यालेन्जमा विश्व कीर्तिमान कायम गरेका जोशीले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा दुई करोड रुपियाँभन्दा बढी सहयोग गरिसक्नुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्