नेपाल

भोटेकोशी बाढी: जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी

काठमाडौँ । भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको खोज तथा उद्धार जारी छ ।

नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र मित्रराष्ट्रबाट आएको विशेषज्ञसहितको टोलीले खोजीलाई तीव्र बनाएको छ ।

उद्धार टोलीले नुवाकोटस्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको ‘क्राउन हेड’ फेलापारी ‘कम्प्रेसर’बाट सुरुङभित्र अक्सिजन पठाएको छ । टनेलभित्र पानी भरिएकाले पम्पबाट पानी फाल्ने तयारी गरिरहेको नेपाली सेनाले जनाएको छ । यस्तै त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङ क्षेत्रमा पनि फौज परिचालित भई उद्धारको काम गरिरहेको छ ।

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धारका लागि खटिइएको टोली करिब १०० मिटरभित्र पुगी सो भन्दा पर पुगेको छ । सो सुरुङ पूर्ण रूपमा टालिएको अवस्थामा फेला परेको छ ।

मित्रराष्ट्रबाट आएका खोज तथा उद्धार टोलीसहित संयुक्त रूपमा रसुवाको हाकुबेँसी, चिलिमे र लाङटाङस्थित सुरुङ इलाकामा खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ ।

प्रभावित क्षेत्रका जङ्गल, डाडाँ, खोला र बस्तीमा स्थानीयलाई सुरक्षा दिन र उद्धारको आवश्यकता मूल्याङ्कनका लागि सेनाले पैदल गस्ती सुरु गरेको छ । त्यसक्रममा स्याफ्रुबेँसी क्षेत्रमा राहत तथा राशन वितरण र लाङटाङ जलविद्युत् इलाकामा ‘रेकी’ तथा ‘पट्रोल’ सञ्चालन गरिएको छ ।

आपत्कालीन उपचार केन्द्र त्रिशूली र धुन्चेमा हालसम्म दुई हजार १४ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ । रसुवाको टिमुरेबाट नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रमा आठ हजार ५०० बढी सैनिक खटिइएका छन् । सेनाले भदौ १० गतेदेखि हालसम्म स्वदेशी र विदेशीसहित तीन हजार २१ जनाको उद्धार गरेको छ । आज मात्रै हेलिकप्टरमार्फत ६२४ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्