वैदेशिक सहायताको उपयोग तथा खर्च क्षमता बढाउनुपर्नेमा अर्थमन्त्री वाग्लेको जोड
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले वैदेशिक सहायताको प्रभावकारी उपयोग तथा खर्च क्षमता बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
सार्वजनिक लेखा समितिको आजको बैठक उहाँले वैदेशिक अनुदानको मात्रा घट्दो क्रममा रहेको र खर्च पनि कम भएको वास्तविकता सुनाउनुभयो ।
अर्थमन्त्री वाग्लेले चालु बजेटमा वैदेशिक ऋण रु दुई खर्ब ४७ अर्ब र अनुदान रु ६२ अर्ब प्रक्षेपण गरिए पनि अनुदानको वास्तविक प्राप्ति रु १० देखि १५ अर्बमा सीमित रहेको बताउनुभयो ।
विश्व बैङ्क र एसियाली विकास बैङ्कबाट मुलुकले सहुलियतमा ऋण प्राप्त गर्दै आएको तर अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको नेपाललाई सहुलियतमा ऋण प्राप्त नहुने परिस्थिति सृजना भएको अर्थमन्त्रीले बताउनुभयो ।
बितेका ५० वर्षमा नेपालले प्रशस्त सहुलियतपूर्ण ऋण प्राप्त गरेको तर खर्च क्षमता नहुँदा, खरिद प्रक्रिया र प्रशासनिक ढिलासुस्तीका कारण त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताउनुभयो ।
बैठकमा महालेखापरीक्षक तोयम रायले वैदेशिक सहायतामा सञ्चालन हुने परियोजनाको रकम समयमै खर्च हुने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
महालेखा नियन्त्रक कार्यालयका सहसचिव विष्णु ज्ञवालीले वैदेशिक सहायतामा सञ्चालन हुने रु १४ अर्ब ९२ करोड लागतका १५२ आयोजना अलपत्र भएका जानकारी दिनुभयो ।