एक्सक्लुसीभ

सडक छेउको त्यो अचम्मको ‘क्यानभास’: जहाँ रोकिएर सुस्ताउँछन् यात्री

बाजुरासँगै अछाम, बझाङ, डोटी तथा अन्य जिल्लाबाट पनि पर्यटक यहाँ पुग्ने गरेका छन्। स्थानीयवासीका अनुसार झरना क्षेत्रको भौतिक पूर्वाधार विस्तार, विश्रामस्थल, पदमार्ग, सुरक्षाका व्यवस्था र प्रचारप्रसारलाई प्रभावकारी बनाउन सके वीरेखोला झरना विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने महत्वपूर्ण पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्ने छ।

राजेन्द्र विक, बाजुरा । साँफे–मार्तडी सडकखण्ड भएर यात्रा गर्ने जो-कोही यात्रु जब बडीमालिका नगरपालिका–६ र ८ को सिमाना रापक क्षेत्रमा पुग्छन्, तब गाडीको झ्यालबाट आँखा स्वतः बाहिर प्रकृतितर्फ सोझिन्छन्। पहाडको विशाल छाती चिर्दै करिब दुई सय मिटर माथिबाट कलकल गर्दै झरिरहेको पानीको एउटा सेतो चम्किलो लर्को देखिन्छ। त्यो अरू केही नभएर बाजुराको उदयमान पर्यटकीय रत्न ‘वीरेखोला झरना‘ हो।

अघिसम्म लामो र थकाइलाग्दो यात्राले गलिरहेका यात्रुहरू झरनाको साउती सुन्ने बित्तिकै आफ्नो थकान बिर्सन्छन्। कोही हतार-हतार गाडी रोक्न लगाउँछन्, कोही झ्यालबाटै मोबाइल तेर्स्याएर भिडियो खिच्न थाल्छन्। केही वर्ष अघिसम्म स्थानीय गोठाला र गोरेटो हिँड्ने बटुवाहरूमा मात्र सीमित यो झरना, आज सुदूरपश्चिमकै एउटा चल्तीको ‘हब’बनिसकेको छ।

सदरमुकाम मार्तडीबाट करिब ६ किलोमिटर तथा छिमेकी जिल्ला अछामबाट करिब ५० किलोमिटर दूरीमा रहेको यो झरना साँफे–मार्तडी सडकखण्डको छेउमै पर्ने भएकाले यात्रु तथा पर्यटकका लागि सहज गन्तव्य बनेको हो।

वर्षायाम सुरु भएसँगै असारदेखि कात्तिकसम्म झरनामा पानीको बहाव बढ्ने भएकाले बालबालिकादेखि वृद्धसम्मका स्थानीयहरु घुमफिरका लागि यहाँ पुग्ने गरेको स्थानीय रुपक थापाले बताउनुभयो। उहाँका अनुसार पछिल्ला केही वर्षयता झरना हेर्न आउने आन्तरिक पर्यटकको संख्या निरन्तर बढिरहेको छ।

बडीमालिका नगरपालिकाले पनि वीरेखोला झरनालाई आन्तरिक पर्यटन प्रवर्द्धनको प्रमुख गन्तव्यका रूपमा प्राथमिकतामा राखेको छ। नगर प्रमुख अमर खड्काका अनुसार झरनालाई थप व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने योजना अघि बढाइएको छ। दुई सय मिटरभन्दा बढी लम्बाइ रहेको वीरेखोला झरनाले स्थानीय व्यापार व्यवसायलाई समेत टेवा पुर्‍याउन थालेको छ। होटल, खाजा पसल तथा स्थानीय उत्पादनको बिक्री बढ्दा आसपासका व्यवसायीले प्रत्यक्ष लाभ लिइरहेका छन्। बडिमालिका नगरपालिकाका अनुसार एक सिजनमा मात्रै एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले वीरेखोला झरनाको अवलोकन गर्ने गरेका छन्।

बाजुरासँगै अछाम, बझाङ, डोटी तथा अन्य जिल्लाबाट पनि पर्यटक यहाँ पुग्ने गरेका छन्। स्थानीयवासीका अनुसार झरना क्षेत्रको भौतिक पूर्वाधार विस्तार, विश्रामस्थल, पदमार्ग, सुरक्षाका व्यवस्था र प्रचारप्रसारलाई प्रभावकारी बनाउन सके वीरेखोला झरना विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने महत्वपूर्ण पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्ने छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्