नेपाल

जनकपुर । कार्यालयमै सेवाग्राहीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि यातायात व्यवस्था कार्यालय बाराका निमित्त कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ ।

मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यलाई मन्त्रालय तानिएको हो । मन्त्रालयका सूचना अधिकारी सुनिल साहले उहाँको स्थानमा बारा यातायात व्यवस्था कार्यालयका अधिकृत रामस्वार्थ महतोलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ ।

यसै बीच घटनाबारे अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ । धनुषा प्रहरीको समन्वयमा बारा प्रहरीले आचार्यलाई कार्यालयमा बोलाएर घटनाका विषयमा सोधपुछ गरिरहेको छ । हालसम्म उहाँलाई औपचारिक रूपमा नियन्त्रणमा भने लिइएको छैन ।

प्रहरीका अनुसार घटना गत फागुनको तेस्रो सातातिर कार्यालय प्रमुखको कार्यकक्षमै भएको थियो । अनुसन्धानका क्रममा कार्यालयका एक चौकीदारको समेत घटनामा संलग्नता देखिएको छ । घटना हुँदा ट्राफिक प्रहरीका सई भानुभक्त आचार्य सहित दुई जना प्रहरीसमेत कार्यालय परिसरमा उपस्थित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सेवाग्राहीमाथि सरकारी कार्यालय भित्र भएको हातपातको भिडियो हिजो सार्वजनिक भएपछि घटनाको व्यापक आलोचना भएको थियो । त्यसपछि मन्त्रालयले प्रशासनिक कारबाही स्वरूप आचार्यलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्