एक्सक्लुसीभ

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका अनधिकृत अतिक्रमण हटाउन १५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

निकुञ्ज प्रशासनले मध्यवर्ती वन, मध्यवर्ती सामुदायिक वन, कबुलियती वन, मध्यवर्ती क्षेत्रभित्र पर्ने सडक, खोला तथा नदी किनार क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका संरचना र गरिएको खेतीपाती हटाउन निर्देशन दिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार सो क्षेत्रभित्र पर्ने सडक, खोला तथा नदी किनारका वन क्षेत्रमा अनधिकृत रूपमा घर, टहरा, पिकनिक स्थल र मचानजस्ता संरचना निर्माण गरिएको पाइएकाले यस्तो कदम चालिएको हो ।

सूचनामा ती क्षेत्रमा गरिएको खेतीपाती १५ दिनभित्र खाली गर्न भनिएको छ । निकुञ्जले मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ को नियम १७ (क) अनुसार वन क्षेत्र अतिक्रमण, नियन्त्रण वा फँडानी गर्नु कानुन विपरीत भएको स्पष्ट पारेको छ ।

तोकिएको समयभित्र अतिक्रमित संरचना नहटाएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ । सूचनाको अवज्ञा गर्नेलाई बिगो कायम भएको अवस्थामा बिगोको दोब्बर जरिवाना र एक वर्षसम्म कैद तथा बिगो कायम नभएको अवस्थामा कसुरको मात्राअनुसार रु २० हजारसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्