कांग्रेस मतगणना अपडेट: तीव्र गतिमा हुँदैछ गणना, भोलिसम्म अन्तिम परिणाम आउने
काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा व्यवस्थित, मर्यादित र तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ ।
बडादशैंलाई ध्यानमा राखेर मतगणना कार्यलाई छिटो र प्रभावकारी बनाउन आज पनि औसतमा २५ वटा समूह बनाएर विभिन्न पदहरूको गणना एकसाथ अघि बढाएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।
दुई क्लस्टरको मतगणना आज बिहान सकिएको छ भने ४ क्लस्टरको मतगणना जारी छ । अरू छ क्लस्टरको गणना सुरु गर्ने तयारी भइरहेको मितिका सदस्य सचिव राजु कटुवालले बताउनुभयो ।
निर्वाचन समितिका अनुसार जनसम्पर्क तर्फबाट दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यहरूको मतगणना सकिएको छ भने पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदहरूको पनि गणना पूरा भएको छ ।
यसैगरी, पार्टीभित्र सबै वर्ग, भूगोल र युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने पदहरूको मतगणना अहिले जारी रहेको छ । हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदहरूको मत गणना भइरहेको छ ।
साथै, आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यहरू, भूगोलतर्फ सुदूरपश्चिम प्रदेशको खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्यहरू तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदहरूको मतगणना पनि तीव्र रूपमा भइरहेको छ । मतगणनालाई थप गति दिँदै बाँकी रहेका अन्य क्लस्टरहरूको गणना पनि थाल्ने तयारी मिलाइएको निर्वाचन समितिले जनाएको छ । जसअनुसार धेरैको चासो रहेको खुलातर्फका ४५ जना केन्द्रीय सदस्यहरूको मतगणना पनि थालिँदै छ ।
यसका साथै दलिततर्फको सहमहामन्त्री, खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्यहरू, अल्पसङ्ख्यक तथा अपाङ्गतातर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यहरू, मधेसीतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्यहरू, खस–आर्यतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्यहरू तथा पेसागततर्फको खुला र महिला केन्द्रीय सदस्य पदहरूको मतगणना गर्न पनि तयारी भइरहेको कांग्रेसको मिडिया सेन्टरले जनाएको छ ।
एकै पटक २५ वटा टोली खटाइएका कारण मतगणना निकै द्रुतगतिमा अघि बढेको छ । यसले गर्दा छिट्टै सबै पदको अन्तिम परिणाम सार्वजनिक हुने र पार्टीले नयाँ तथा सशक्त नेतृत्व पाउने विश्वास गरिएको छ । मतगणना स्थल सानेपामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक र सौहार्दपूर्ण उपस्थिति रहेको छ ।
निर्वाचन समितिले भोलि बुधवारसम्म सबै परिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको जनाएको छ ।