नेपाल

भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ। भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा खोज तथा उद्धारकार्यलाई तीव्रता दिइएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त सो जलविद्युत् केन्द्रमा खोज तथा उद्धारकार्य तीव्र पारिएको छ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार उक्त जलविद्युत् क्षेत्रमा खोज तथा उद्धारकार्यलाई तीव्रता दिइएको जानकारी दिनुभयो। उहाँले टनेलको मुखमा जमेको १५ फिटसम्मको लेदो निकालेर नेपाली सेनाको टोलीभित्र प्रवेश गरेको बताउनुभयो।

“सेनाले थप अगाडिसम्म पुग्ने प्रयास जारी राखेको छ, दिनरात नभनी गरिएको प्रयासपछि सुरुङमा जमेको पानीलाई निकास दिन प्राविधिक टोली सफल भएको छ, त्यसबाट उद्धारकार्य थप सहज भएको छ”, प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्राधिकरणको व्यवस्थापन समितिको बैठकले खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउन कुनै पनि स्रोत साधनको अभाव हुन नदिने निर्णय गरेको छ। बैठकले आवश्यक बजेट, खाद्यान्न तथा अन्य सामग्रीको प्राप्ति, खर्च र त्यसको अभिलेख व्यवस्थापन गर्ने विशेष निर्णय गरेको छ।

बाढीका कारण सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको विवरण अद्यावधिक गर्न र उनीहरूका परिवारको पीर, मर्का एवं गुनासो सुन्न प्राधिकरणले जनसाधन विभागका निर्देशकको संयोजकत्वमा समन्वय समिति गठन गरेकोे छ।

सम्पर्कमा नआएका कर्मचारीका केही आफन्तजनलाई बाढीबाट क्षतिग्रस्त पावरहाउस क्षेत्रसम्मै पुर्याएर स्थलगत जानकारी गराउने व्यवस्था मिलाइएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्