नेपाल

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रुवाहक सवारीसाधनलाई काठमाडौँ-बाइरोड-नौबिसे-पालुङ-भैँसे तथा फर्पिङ-कुलेखानी हुँदै सञ्चालन गरिएको छ । मालवाहक सवारीसाधनलाई भने कान्ति लोकपथ हुँदै आवतजावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, रसुवा जाने सवारीसाधनले टोखा-छहरे-नुवाकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने व्यवस्था गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार रसुवाको धुन्चेसम्म राहत सामग्री पुर्‍याउन अहिले चारपाङ्ग्रे सवारीसाधन मात्र प्रयोग गर्न सकिने अवस्था छ । कच्ची सडक भएकाले राहत सामग्री बोकेका सवारीसाधनले ट्राफिक प्रहरीसँग समन्वय गरी आवागमन गर्नुपर्ने उहाँले बताउनुभयो ।

वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढेकाले सवारी जाम तथा दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरीले चालकलाई धैर्यपूर्वक आफ्नो पालोमा मात्र सवारी चलाउन र ओभरटेक नगर्न आग्रह गरेको छ । यात्रु, यातायात व्यवसायी तथा चालकलाई तोकिएको वैकल्पिक मार्गको व्यवस्था पालना गरी आवागमन सहज बनाउन सहयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्