आफन्तको खोजीमा विदेशी नागरिक
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीमा आफ्ना आफन्त बेपत्ता भएपछि विभिन्न देशका परिवार नेपाल आएर खोजीमा जुटेका छन् । अध्यागमन विभागका अनुसार गत बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि आफ्ना आफन्त सम्पर्कविहीन भएपछि अध्यागमन कार्यालयबाट नेपाल भित्रिएको र नेपालबाट बाहिरिएकाको सूचना लिने बढेका छन् ।
विभागका प्रवक्ता शिवप्रसाद लम्सालका अनुसार विनाशकारी बाढीपछि नेपाली तथा विदेशी नागरिक बेपत्ता रहेको खबर सार्वजनिक भएसँगै विभिन्न देशका राजदूतावास र कन्सुलरमार्फत मात्रै नभई बेपत्ता नागरिकका आफन्त स्वयम् अध्यागमन कार्यालयसम्म धाउन थालेका हुन् ।
उहाँले भन्नुभयो, “तीर्थयात्री, पर्यटन तथा विभिन्न कामका सिलसिलामा नेपाल–चीन सीमाक्षेत्रसम्म पुगेका विदेशी नागरिकका आफन्त नेपाल आएर विभिन्न अस्पताल, प्रहरी कार्यालय, उद्धार तथा पहिचान केन्द्र र अध्यागमन विभाग र घटनास्थलआसपास पुगेर खोजी गरिरहेका छन् । कतिपय पीडितका आफन्त नेपाल प्रवेश गरेको र बाहिरिएको तथ्याङ्क मागेर खोजी कार्यमा जुटेका छन् भने कतिपयले सम्बद्ध ट्रेकिङ एजेन्सीमार्फत आफ्ना आफन्तको यात्रा विवरण खोजेर अस्पताल तथा शव पहिचान केन्द्रसम्म आफन्तको तस्बिर र विवरण लिएर पुगिरहेका छन् ।” आफन्तको खोजीमा नेपाल आउने पर्यटकका आफन्तमा सबैभन्दा बढी भारत, चीन, अमेरिका, युक्रेन, माल्टा, बेलायत, मलेसिया, अस्ट्रेलियालगायत मुलुकका नागरिक रहेको उहाँले जानकारी दिनुभयो ।
बाहिरिएका थिए ८९ जना विदेशी
प्रवक्ता लम्सालका अनुसार भदौ १० गते (बुधबार) बिहान बाढी आउनुपूर्व टिम्बुरेस्थित अध्यागमन कार्यालयबाट विदेशी र नेपाली गरी ८९ चीनतर्फ प्रस्ताहन गरेका थिए भने तीन जना नेपाली नागरिक नेपाल प्रवेश गरेका थिए । उहाँले भन्नुभयो, “बुधबार बिहान ८:३५ बजेसम्म नेपाल भित्रिने र नेपालबाट बाहिरिने यात्रु जाँचपास सकेर चीनतर्फ प्रवेश गरिसकेका थिए । उक्त समयसम्म नेपालबाट ३२ जना नेपाली, १२ जना चिनियाँ, नौ जना अमेरिकी, ३३ जना भारतीय तथा क्यानडा, इटाली र अस्ट्रेलियाका एक/एक जना पर्यटक नेपाल–चीन सीमाक्षेत्रको ग्यिरोङ बन्दरगाह क्षेत्रतर्फ प्रवेश गरेका थिए ।”
शव पहिचानमा चुनौती
नेपाल प्रहरीका अनुसार बाढीपछि ठुलो सङ्ख्यामा शव फेला परेपछि पहिचान प्रक्रिया पनि चुनौतीपूर्ण बनेको छ । विदेशी नागरिकको खोजी तथा उद्धारमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक नन्तीराज गुरुङले भन्नुभयो, “बाढीले बगाएर निधन भएका नागरिकमध्ये एक/दुई जनाको शवको प्रकृति विदेशी नागरिक जस्तो देखिए पनि लामो समय पानी तथा हिलोमा रहेकाले पहिचान गर्न कठिन भइरहेको छ ।”
थप पाँच पर्यटकको उद्धार
सरकारले बाढीमा हराएका व्यक्तिको खोजीमा तीव्रता दिइरहेका बेला आइतबार थप पाँच जना विदेशी नागरिकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार आइतबार तीन जना स्पेनका, एक जना अमेरिकी र बेल्जियमका एक जना पर्यटकको उद्धार गरिएको हो । बोर्डका अनुसार आइतबारसम्म २८९ पर्यटकको उद्धार गरिएको छ भने ५९१ जना अझै सम्पर्कबाहिर रहेका छन् ।