नेपाल

पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ। भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–गल्छीखण्ड, मुग्लिन–नारायणगढ, मेची राजमार्ग, रुकुमपश्चिम भेरी करिडोर, पासाङल्हामु, रोल्पाको शहिद मार्गलगायतका अवरुद्ध छन् । पृथ्वीराजमार्गको गल्छी–बैरेनी खण्डमा बिहीबार साँझदेखि एकतर्फी सवारीसाधन सञ्चालन भएका छन् । यस्तै सोही खण्डको जरिखेत खण्डमा थुप्रिएको माटो तथा ढुङ्गा पन्छाएर यातायात पुनः सञ्चालनमा आएको सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले बताउनुभयो ।

यसैगरी मलेखु–गलौदी खण्डमा सात सय मिटर लेदो हटाउने काम भइरहेको छ । विभागका अनुसार सो खण्डको लेदो हटाएपछि पृथ्वीराजमार्ग सञ्चालनमा आउनेछ ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार गत रसुवा बाढीको कारणले अवरुद्ध धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० ज्याङखोलामा लेदो हटाउने कार्य भइरहेको जनाएको छ । त्यसैगरी, सोही ठाउँको बेनिघाट रोराङ गाउँपालिका–२ बिहानी पम्पतर्फ लेदो हटाउने काम भइरहेको छ । त्यस्तै गरी सोही पालिका–५ स्थित गलौदीमा एक्साभेटरलगायत उपकरण जान नसकेर सडक अवरुद्ध भइरहेको छ । धादिङको गजुरी गाउँपालिका–६ जहरेखेत र बाङ्गेमोड सडकखण्ड पनि अवरुद्ध भइरहेको छ । गल्छी गाउँपालिका–६ बैरेनीको लेदो हटाउने कार्य भइरहेको छ ।रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्