नेपाल

चितवनमा शव भेटिने क्रम जारी, संख्या १७८ पुग्यो

चितवन । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले बगाएर बेपत्ता भएका मध्ये चितवनमा भेटिएका शवको संख्या १७८ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भेटिएका शव अहिले भरतपुरमा संकलन गरेर राखिएको छ। भेटिएका शवमध्ये ४१ महिला, ७४ पुरुष, छ बालक, दुई बालिका र पहिचान नखुलेका ५५ जना रहेका छन्।

भेटिएका शवको आज (शसुक्रबार)देखि पहिचान गरी परिवारलाई बुझाउने तयारी गरिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो। त्यसका लागि प्रहरीले सबै शवको फोटोसमेत तयार गरेको छ।

फोटोका आधारमा सनाखत भएमा सम्बन्धित परिवारलाई शव बुझाइने प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो।

भेटिएका शव त्रिशूली र नारायणी नदीका किनारमा फेला परेका हुन्। फिस्लिङदेखि मेघौलीको गोलाघाटसम्मको क्षेत्रमा शव भेटिएको प्रहरीले जनाएको छ। शवलाई अहिले भरतपुरमा स्थापना गरिएको शव पहिचान कक्षमा ल्याएर राखिएको छ।

भरतपुरस्थित औद्योगिक विकास प्रतिष्ठानको भवनमा शव पहिचान कक्ष स्थापना गरिएको हो। चितवनमा लगातार शव भेटिन थालेपछि पहिचानमा सहज होस् भन्ने उद्देश्यले कक्ष स्थापना गरिएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो।

शव संकलनसँगै सनाखतको कामसमेत सुरु हुने उहाँले जानकारी दिनुभयो।

भरतपुर महानगरपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा शव पहिचान केन्द्र स्थापना गरिएको हो। केन्द्रमा एकपटकमा २५० वटासम्म शव राख्न सकिने बताइएको छ।

शव भेटिने क्रम अझै जारी रहेकाले पहिचान तथा व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले केन्द्र स्थापना गरिएको प्रहरीले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्