भोटेकोशी बाढीले बगाएका २८ जनाको शव तनहुँमा फेला
तनहुँ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले बगाएका व्यक्तिको खोजीका क्रममा तनहुँमा हालसम्म २८ जनाको शव फेला परेको छ ।
बाढीले बगाएर त्रिशूली नदी हुँदै तनहुँसम्म आइपुगेका शव देवघाट र आँबुखैरेनी क्षेत्रबाट फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार बुधबार नौ जनाको शव फेला परेको थियो । ती शवलाई पहिचान तथा आवश्यक प्रक्रियाका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ । बिहीबार थप १९ जनाको शव फेला परेको छ । तीमध्ये १४ जनाको शव गण्डकी अस्पताल पोखरा पठाइएको छ भने पाँच जनाको शव दमौली अस्पतालमा राखिएको छ । तनहुँ जिल्लाभित्र हालसम्म २८ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । शव पहिचान भएपछि सम्बन्धित परिवारसँग समन्वय गरी जिम्मा लगाउने तयारी गरिएको छ । बाढीबाट बगाएर ल्याएका थप शव खोज्न शुक्रबार पनि त्रिशूली नदी किनार क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ । प्रहरी उपरीक्षक कार्कीको नेतृत्वमा विभिन्न स्थानमा खोज तथा उद्धार कार्य भइरहेको छ ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे, प्रहरी निरीक्षक प्रदीप सुवेदी, प्रहरी निरीक्षक आशीष पोखरेल र प्रहरी निरीक्षक अमृत लामिछानेको कमाण्डमा समेत विभिन्न स्थानमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्रिशूली नदी किनार तथा आसपासका क्षेत्रमा थप शव हुन सक्ने भएकाले शुक्रबार पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ । नदी किनार वा आसपासमा शव देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन जिल्ला प्रहरी कार्यालय तनहुँले सबैसँग आग्रह गरेको छ ।