‘मास्टर्नी’को गीत विवादमा प्रियंकाले मागिन माफी
‘मैले पहिलोपटक चलचित्र निर्माणको यात्रा थालनी गर्दा कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्याउने कल्पनासम्म गरेकी थिइनँ र भविष्यमा पनि गर्नेछैन । अहिले सिर्जना भएको यस परिस्थितिलाई मैले गल्ती सुधार्ने महत्त्वपूर्ण पाठका रूपमा लिएकी छु। सम्पूर्ण आदरणीय गुरु-गुरुआमा, नेपाल शिक्षक महासंघ तथा यस घटनाबाट आहत हुनुभएका सम्पूर्ण दर्शकहरूप्रति उच्च सम्मानसहित नतमस्तक भई माफी चाहन्छु।’
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन हुने नेपाली चलचित्र ‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा प्रयोग भएका शब्दमा असहमति जनाएको छ ।
महासङ्घले गीतमा प्रयोग भएका शब्दले शिक्षकका पेसाप्रति अपमानपूर्ण शब्दावली प्रयोग भएकाले सच्याउन आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आज प्रेस विज्ञप्ति जारी गर्दै महिला शिक्षकमाथि लाञ्छित, अपमानित शब्द र भाव प्रयोग गरिएको उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको जनाइएको छ । उक्त गीतलाई तुरुन्त बन्द गर्न र चलचित्रमा प्रयोग नगर्न महासङ्घले आग्रह गरेको छ ।
नेपाल शिक्षक महासङ्घले गीतमा प्रयोग भएका शब्दमा असहमति जनाए लगत्तै प्रियंकाले माफी माग्दै फेसबुकमा लेखिन, ‘मैले पहिलोपटक चलचित्र निर्माणको यात्रा थालनी गर्दा कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्याउने कल्पनासम्म गरेकी थिइनँ र भविष्यमा पनि गर्नेछैन । अहिले सिर्जना भएको यस परिस्थितिलाई मैले गल्ती सुधार्ने महत्त्वपूर्ण पाठका रूपमा लिएकी छु। सम्पूर्ण आदरणीय गुरु-गुरुआमा, नेपाल शिक्षक महासंघ तथा यस घटनाबाट आहत हुनुभएका सम्पूर्ण दर्शकहरूप्रति उच्च सम्मानसहित नतमस्तक भई माफी चाहन्छु।’